/कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति

कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठनको अनुमति

नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका–एसकेबायोले उत्पादन गरेको खोपलाई सूचीकृत गरेको हो । नेपालमा अहिले भारतले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोपबाट खोप अभियान चलिरहेको छ ।

डब्ल्यूएचओले विज्ञप्तिमा निकालेर कोभिशिल्डसहित दुई वटा खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको अध्ययनपछि सूचीकृत गरेको बताएको छ । डब्लुएचओले सूचीकृत गरेका खोप कोभ्याक्स सुविधामार्फत् वितरण गर्न योग्य हुन्छन् । कोभ्याक्स अन्तर्गत नेपालले यही महिनामा साढे २२ लाख मात्रा कोभिशील्ड प्राप्त गर्ने सरकारले जनाएको छ ।

कोभिशिल्डको प्रभावकारिता ६३ प्रतिशत पाइएको र १८ वर्षभन्दा माथि उमेरका सबैलाई लगाउन मिल्ने डब्ल्यूएचओले जनाएको छ । कोभ्याक्स सुविधाको खोपलाई समेत लक्षित गरेर सरकारले आउँदाे २३ गतेबाट ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्ने तयारी गरेको छ ।

डब्ल्यूएचओले यसअघि नै फाइजर–बायोएनटेक खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।