मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा पक्राउ परेका नेकपा नेत्रविक्रम चन्द समूहका मोरङ इञ्चार्ज धनबहादुर विकलाई हातहतियार तथा खरखजाना मुद्दामा बुधबार जेल चलान गरिएको छ । हातहतियार तथा खरखजाना मुद्दामा थुनछेकको बहस सकिएपछी उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश इजलासबाट आएपछि मोरङ कारागार चलान गरिएको हो ।
संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटेका विकलाई बूढीगंगा गाउँपालिका ४ मा माघ ७ गते उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी मोरङले पक्राउ गरेको थियो । हातहतियार मुद्दामा पुर्पक्षका लागि थुनामा गएका विकको अपहरण र कर्तव्य ज्यान मुद्दामा आइतबार अदालतमा बयान गराइने जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालले बताए ।
मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा मुद्दा चलाइएकामध्ये ४१ जना फरार छन् ।
शिक्षक श्रेष्ठको हत्याको आरोप लागेका विकको साथबाट प्रहरीले सेमी अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली लोड भएको म्याग्जिन, विभिन्न कम्पनीका मोबाइल ४ र सिमकार्ड ५ थान बरामद गरेको थियो ।