/ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्राे हुने शेरबहादुर देउवाको भनाइ

ओलीले संसदमा बहुमत पुर्‍याउन नसके पद छाड्दा राम्राे हुने शेरबहादुर देउवाको भनाइ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताउनुभएको छ ।

आज  महेन्द्रनारायण निधिको ९९ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘अहिंसा र शान्ति : आजको सन्दर्भमा’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले नेपाली कांग्रेसप्रति आर्कषण बढेको पनि बताउनुभयो । कांग्रेसले केही गर्दैन भनेर नागरिकले भोट नदिएर हराए पनि अहिले कांग्रेस नै चाहिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसले केही गर्दैन भनेर नागरिकले हराए, भोट दिएनन्, अहिले कांग्रेस चाहियो भन्नुपरेको छ । 

अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा न्यायको जित भएको छ । प्रजातन्त्रको जित भएको छ । अदालतले राम्रो निर्णय गरेर नेपालमा फेरि संसदीय व्यवस्थालाई सुदृढीकरण गर्ने मौका मिलेको छ । मलाई विश्वास छ, ओलीले अदालतको निर्णय पछाडि कि त आफ्नो बहुमत पुर्‍याउनु पर्‍याे, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’

प्रजातन्त्र र लोकतन्त्रलाई सुदृढीकरण गर्न र बचाउन आवश्यक रहेको पनि सभापति देउवाले बताउनुभयो ।