नयाँ गठबन्धनको आधार नबनेको भन्दै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जसपाको सिंगो सहयोग नमिलेसम्म ओलीको विकल्पमा तीन दलको गठबन्धन बन्न सक्दैन । संसद्मा अहिलेको गणितमा काँग्रेस का ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चार जना एमालेतिर लागेका) र जसपाका ३४ (दुई जना निलम्बित) छन् । अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट नेताहरुसँग जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीको विकल्पमा जान नसक्ने बताउने गरेका छन् । यादव र भट्टराई भने प्रमुख प्रतिपक्षको हैसियतमा देउवाले वैकल्पिक गठबन्धनका लागि नेतृत्व लिइदिए हुन्थ्यो भन्ने पक्षमै छन् ।
ठाकुर र महतोलाई पनि ओलीको विरोधमा गएर देउवा प्रधानमन्त्री बन्न नसक्ने विश्वास छ । प्रधानमन्त्री ओली र देउवाबीच प्रतिनिधिसभा विघटनअघिदेखि नै ‘लेनदेन’ को सम्बन्ध छ । प्रतिनिधिसभा विघटनको खुलेर विरोध नगरेका देउवाले आफै अग्रसर भएर ओलीलाई हटाउलान् भन्नेमा ठाकुर र महतोलाई विश्वास छैन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।