/कोभिड–१९ को नयाँ स्वरुपको देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुको सुझाव

कोभिड–१९ को नयाँ स्वरुपको देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुको सुझाव

कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गर्नुभयो । “पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।”

भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उहाँको भनाइ छ । सङ्क्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ । सङ्क्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।

अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताउनुभयो । उहाँका अनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताउनुभयो ।

त्यस्तै   नेपालमा कोरोना भाइरसका ४९६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार ३७८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ८० हजार ५२४ पुगेको जानकारी गराएको छ ।

पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार १६५ जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले १३ ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ५३ जनाको मृत्यु भएको छ ।

हाल तीन हजार ३०६ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् । हालसम्म २३ लाख १७ हजार २८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।